काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका–८ स्थित मनमै नजिकको भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटना शुक्रबार दिउँसो करिब २ बजे भएको हो।
प्रहरीका अनुसार नलगाड नगरपालिका–८ मनमै र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका जोड्ने भेरी पुल नजिक तीन जना बालबालिका पौडी खेल्न गएका थिए। त्यही क्रममा नदीमा बगेर दुई बालबालिका बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा नलगाड–८ मनमै निवासी १० वर्षीय महेश कुसारी र १२ वर्षीया आशा कुसारी रहेको प्रहरीको भनाइ छ। उनीहरूसँगै पौडी खेल्न गएकी सोही ठाउँकी भगवती नेपाली भने नदीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएको छ। अहिले उनको आठबीसकोट नगरपालिका स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि बेपत्ता बालबालिकाको खोजी कार्यमा स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।