काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–६ अन्तर्गतको बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएपछि आगो फैलिएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टि गरेको छ।
प्रहरी नायब उपरीक्षक (प्रनाउ) ईश्वरीप्रसाद भण्डारीका अनुसार, आगलागीका कारण अहिलेसम्म १६ देखि १७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भइसकेका छन्।
प्रहरीका अनुसार, शुक्रबार दिउँसो ३:५५ बजे नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर सुरु भएको आगो हालसम्म नियन्त्रणमा आएको छैन।
स्थानीय स्तरमा उपलब्ध स्रोत साधन प्रयोग गरिए तापनि आगोको तीव्रता अधिक भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। प्रारम्भिक विवरण अनुसार, जनधनको क्षतिको विस्तृत विवरण अझै आइनसकेको बताइएको छ।
आगलागीको कारण बजार क्षेत्रका व्यापारीहरू र स्थानीयवासीहरू ठूलो क्षतिको अवस्थामा परेका छन्। आगो नियन्त्रणपछिको विस्तृत मूल्यांकन र क्षतिको आँकडा संकलन कार्य जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत अघि बढाइने जनाइएको छ।