काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रयास जारी राखेका छन्।
सभामुख घिमिरेले संसद बैठकको तोकिएको समयभन्दा अगावै सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुखले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
गत जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत भएको भए पनि त्यसयता प्रतिनिधि सभा बैठक सञ्चालनमा आउन सकेको छैन।
प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विरोध जनाएपछि संसदको प्रक्रिया अघि बढ्न सकेको छैन। यसका कारण बजेटमाथिको छलफलसमेत सुरु हुन सकेको छैन।
यसैबीच, प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ।