काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार गरिएको छलफल कुनै ठोस निष्कर्षमा नपुगी टुंगिएको छ।
बैठकमा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कांग्रेससँग समर्थन मागेको थियो। तर, कांग्रेसका नेताहरूले सो प्रस्तावमा सहमति जनाएनन्।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिवहरू वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए भने कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्र कार्की सहभागी थिए।
यसअघि माओवादी केन्द्रले विपक्षी दलहरूको बैठकसमेत बोलाएको थियो। त्यसैक्रममा अध्यक्ष प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।
प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने विपक्षी दलहरूको माग यथावत् छ। तर सत्तारूढ गठबन्धन यसमा सकारात्मक देखिएको छैन। यही विषय प्रवेशसँगै जेठ १३ गतेयता प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन हुन सकेको छैन।
यद्यपि जेठ १५ गतेको बैठकमा विपक्षी दलहरूले बजेट प्रस्तुतिमा अवरोध गरेका थिएनन्। त्यसयता भने प्रतिनिधि सभामा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।