काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा स्वीकृत दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ।
६ जनाको दरबन्दी रहेको उक्त कार्यालयमा हाल ८ जना उपसचिव कार्यरत छन्। जसमा अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल हाल कार्यरत रहेका छन्।
दरबन्दीभन्दा बढी उपसचिव खटाइएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो व्यक्त गर्दै गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ७ दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ।
शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते पठाएको पत्रमा, त्रिभुवन विमानस्थल अध्यागमनमा कार्यरत कर्मचारीहरूको नाम, दरबन्दी र जिम्मेवारीबारे स्पष्ट विवरण उपलब्ध गराउन भनिएको छ।
साथै, स्वीकृत दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नगरेमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।