काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने पानी आपूर्ति गर्दै आएको सीएन इन्टरप्राइजेजसँगको सेवा सम्झौता रद्द गरेको छ।
कृषि तथा पशुपन्छी विभागद्वारा गरिएको प्राविधिक परीक्षणमा उक्त आपूर्तिकर्ताले वितरण गरेको पानीमा कोलिफर्म जीवाणु फेला परेपछि सम्झौता भङ्ग गरिएको महानगरले जनाएको छ। विभागले सोमबार आपूर्तिकर्तालाई पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृतस्तरको निर्णयअनुसार सम्झौता रद्द गरिएको स्पष्ट पारेको हो।
काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाई दफा ३० बमोजिम दुई लाख रुपैयाँ जरिवाना पनि गरेको छ।
सीएन इन्टरप्राइजेजसँग २ वैशाख २०८१ मा सम्झौता गरिएको थियो। सम्झौता भङ्गसँगै महानगरपालिकाले सार्वजनिक स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउने जनाएको छ।