काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा दायर अदालतको अवहेलना रिटमा जिल्ला अदालत काठमाडौँले नेपाल खबरलाई समाचार नहटाउनुको कारण देखाउन आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले श्रेष्ठले दायर गरेको अवहेलनासम्बन्धी रिटमा विपक्षी नेपाल खबरसँग स्पष्टिकरण मागेको हो।
जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतिका सन्दर्भमा श्रेष्ठले प्रत्यक्ष रूपमा कमिसन मागेको आरोपसहित नेपाल खबर र बिजमाण्डु अनलाइनले समाचार प्रकाशित गरेका थिए। ती समाचारविरुद्ध श्रेष्ठले निषेधाज्ञा माग गर्दै जिल्ला अदालतमा निवेदन दर्ता गरेका थिए।
गत जेठ २७ गते जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले दुवै अनलाइनमा प्रकाशित समाचार हटाउन आदेश दिएको थियो। साथै, अन्तरिम आदेशको सुनुवाइका लागि असार ४ गते दुवै पक्षलाई बोलाइएको थियो।
नेपाल खबरले अदालतको उक्त आदेशप्रति जवाफ दिँदै सार्वजनिक पदधारीहरू जनताको निरन्तर निगरानीमा रहने भएकाले तिनीहरूबारे समाचार लेख्ने पत्रकारको संवैधानिक अधिकार रहेको दाबी गरेको छ। समाचार मेटिएको छैन भन्ने आधारमा श्रेष्ठले पुनः अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।
अदालतले सोही अवहेलना रिटमा ‘समाचार किन नमेटाएको हो’ भन्ने विषयमा नेपाल खबरलाई कारण देखाउन आदेश दिएको हो।