काठमाडौँ । न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ।
टिबी कार्की नामक व्यक्तिले पोखरेल सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य नरहेको दाबी गर्दै उजुरी दिएका हुन्। उनका अनुसार पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसम्बन्धी एक मुद्दामा अदालतको आदेशप्रति सार्वजनिक टिप्पणी गरेका थिए, जुन न्यायिक मर्यादासँग मेल नखाने व्यवहार हो। उजुरी समितिमा २१ नम्बरमा दर्ता भएको छ।
न्याय परिषद्को जेठ २७ गतेको बैठकले वरिष्ठ अधिवक्ता पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरेको थियो।
कार्कीको दाबी अनुसार, पोखरेलले उच्च अदालत दाङ तुलसीपुर अन्तर्गतको बुटवल इजलासले लामिछानेलाई सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदा त्यसको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएका थिए।
सुनुवाइ समितिले मेघराज पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको नाममा सुनुवाइ प्रक्रिया जेठ ३१ गतेदेखि सुरु गरिसकेको छ।
समितिले सार्वजनिक सूचना जारी गर्दै सिफारिस भएका व्यक्तिहरूको विषयमा गुनासो वा उजुरी भए १० दिनभित्र बुझाउन आग्रह गरेको थियो। सोही अवधिमा कार्कीले पोखरेलविरुद्ध उजुरी दर्ता गराएका हुन्।