काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले गठन गरेको समितिसम्बन्धी धारणा बैठकमै राख्ने तयारी गरेको छ।
पार्टीका प्रवक्ता डा. मनिष झाले हाल समितिको विषयमा आन्तरिक छलफल जारी रहेको जनाउँदै, यसबारे पार्टीको धारणा आजै संसद् बैठकमा सार्वजनिक गरिने बताएका छन्।
उनका अनुसार, “भिजिट भिसामार्फत मानव तस्करीजस्तो गम्भीर र संगठित अपराधको सन्दर्भमा सरकारद्वारा गठित समितिबारे संसदीय दल छलफलमा जुटेको छ। दलको आधिकारिक धारणा संसदमै प्रस्तुत गरिनेछ।”
छानबिन समिति गठनबारे औपचारिक धारणा तय गर्न रास्वपाको संसदीय दलको बैठक अहिले पनि चलिरहेको छ।
सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको हो। यस घटनामा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै रास्वपाले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ। पार्टीको मुख्य माग गृहमन्त्रीको राजीनामा र प्रभावकारी छानबिन समिति गठन हो।