काठमाडौँ | भारतबाट मलद्वारमा लुकाएर लागु औषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ६ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा लागु औषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सर्लाही इश्वरपुर–४, सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा-११ स्थित बसपार्कमा डेरागरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगरलाई लागु औषधसहित पक्राउ गरेको हो ।
शरीर तलासी लिँदा उनले मलद्वारमा लुकाएर ल्याएको प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लास्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई लागु औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सोमबार बिहान ८ बजे मेची पुलमै मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा धादिङ गङ्गाजमुना गाउँपालिका वडा ५ बस्ने ४४ वर्षीय प्रकाश अधिकारी पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटी सफारीमा नेपालतर्फ आइरहेका अधिकारीलाई सोधपुछ गर्दा मलद्वारभित्र लुकाइ छिपाई ल्याएको प्लास्टिकसहित १० ग्राम ४३० मिलिग्राम र प्लास्टिकबाहेक ९ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।