काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले लागू औषध जस्तो देखिने पदार्थसहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। कार्यालयका अनुसार बैंककबाट काठमाडौँ आएका थाई नागरिक वर्ष ३९ का योङयुट थुइअनलाई आगमन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी थाई एयरवेजको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौँ आइपुगेका थिए।
जाँचका क्रममा उनको सुटकेसबाट करिब ३ केजी ४३५ ग्राम तौलको लागू औषध जस्तो देखिने पदार्थ (प्लास्टिकसहित) फेला परेको बताइएको छ। उक्त पदार्थ लुकाइछिपाइ ल्याइएको अवस्थामा फेला परेको सुरक्षा कार्यालयले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा बुझाइएको छ।