चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

Posted on: 07 Jan, 2022

पुस २३, चितवन । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ ।

उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ । महोत्सवस्थलमा कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताउनुभयो ।

विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । कोरोना सङ्क्रमण फैलन नदिन महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिने जनाउँदै अध्यक्ष श्रेष्ठले महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिने बताउनुभयो । महोत्सवमा रहने सम्पूर्ण कक्ष बिक्री भइसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताउनुभयो । महोत्सव परिसरमा २० रेष्टुरेन्ट रहने जनाउँदै उहाँले सबैको बुकिङ पूरा भएको बताउनुभयो । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सवभित्र राखिने श्रेष्ठले जानकारी दिनुभयो ।

 महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १३औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । 

महोत्सव प्रचार–प्रसार समिति संयोजक सुमन श्रेष्ठले महोत्सवको उद्घाटन पुस २५ गते पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताउनुभयो । त्यस्तै महोत्सवको समापन गर्न माघ ४ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे आउने उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!