६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी बैठकमा प्रचण्डले भने– बरु पार्टी नै विघटन गरौं

१३ श्रावण २०७४, शुक्रबार ०१:२२

साउन १३, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा भएको छ । 

माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् ।

‘माओवादी एउटा आन्दोलन थियो पार्टीमात्रै थिएन, हामीले २० वर्षअघि बनाउने भनेको माओवादी हिजोआजको जस्तो माओवादी थिएन,’ पाँच दिनअघि ७ साउनमा सकिएको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा उठेका टिप्पणीको जवाफ दिने क्रममा प्रचण्डले भने, ‘सबै साथीहरुबाट आएका विचारहरु समान किसिमका छन्– ‘गुटबन्दी मौलायो । नीतिमूखी होइन, नेतामुखी भइयो । जनतामा जान सकिएन । चुनाव लड्ने अनुभव भएन । अब हामीसँग सच्याउनै नसकिने गरी कमजोरी बढिसकेका हुन् भने पार्टी नै विघटन गर्नेबारे सोच्न सकिन्छ ।’

उनले बैठकमा कार्ल माक्र्स र एंगेल्सको उदाहरण दिदै थपे, ‘कम्युनिस्ट इन्टरनेसनलमा वैचारिक विवादहरु बढदै गएर व्यक्ति र गुटमूखी प्रवृत्ति मौलाएपछि माक्र्स र एंगेल्सले त्यसलाई विघटन गर्नुभएको थियो । त्यसबेला उहाहरुको खुबै विरोध र आलोचना भयो । कालान्तरमा उहाँहरुले लिएको निर्णय सही रहेछ भन्ने पुष्टि भयो । हामीले आफ्ना गुरुहरुबाट किन नसिक्ने ?’

बैठकमा सहभागी एक उच्च नेताको भनाईमा, प्रचण्डले माओवादी आन्दोलनले नेपालको राजनीति आधारभूत रुपमै बदल्न योगदान दिएको भन्दै यसलाई अरु पार्टीजस्तो दिनचर्या बिताउने छुट नभएको बताए । ‘उहाँले क्रान्तिको सफलतापछि हुर्किने नयाँ पुस्तालाई अगाडिको बाटो प्रशस्त गर्दै लेखपढ गरेर बाँकी उमेर बिताउन सकिने भन्दा बैठकमा सन्नाटा छाएको थियो,’ अर्का नेताले भने, ‘अध्यक्षको यो भनाई कुनै भावावेशमा आएको थिएन भन्ने कुरा उहाँको प्रस्तुतिको गहिराईबाट बुझ्न सकिन्थ्यो ।’

नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डबाट पार्टी विघटनको सन्दर्भ बैठकमा उप्किए पनि गम्भीरतापूर्वक नआएको बताए । ‘यथास्थितिमै पार्टी संगठन राखिरह्यो भने अहिलेको आन्दोलन नेतृत्व गर्न सकिन्न भनेर अध्यक्षले विघटन गर्न सकिने सन्दर्भ बैठकको सुरुवातमै राख्नुभएको थियो ।

पछि पनि अरु साथीहरुबाट यसबारे चर्चा चल्यो, तर घनिभूत बहस होओस् भन्ने उहाँको उद्देश्य होइन,’ नेता श्रेष्ठले भने, ‘नयाँ परिस्थितिलाई आत्मसात गर्न सकिएन भने स्वत: विघटन हुँदै जान्छ । त्यसो गर्न दिनुभन्दा बरु आफैंले विघटन भएको घोषणा गरौं भन्ने कुरा हो ।’

अर्का नेता अग्निप्रसाद सापकोटाले पनि प्रचण्डबाट पार्टी विघटन गर्न सकिने प्रस्ताव बैठकमा आएको बताए । उनले यस्तो प्रस्ताव पार्टीलाई सही बाटोमा लैजानका लागि आएको भन्दै तत्कालै विघटनको सम्भावना भने इन्कार गरे । ‘माओवादी आन्दोलनले आफ्नो सफलता पाइसकेको अर्थमा उहाँले त्यसो भन्नुभएको हो,’ सापकोटाले भने, ‘जनताका लागि जीवन नै त्याग गर्न चाहने मनोविज्ञान आजभोलि देखिन छाडेकामा उहाँको चिन्ता हो । क्रान्तिकारी सारतत्वसहितको माओवादी नबन्ने हो भने विघटन गरौं, त्यो एउटा सन्देश हुन सक्छ भन्ने उहाँको प्रस्ताव हो ।’ उनले प्रचण्डको प्रस्ताव पार्टी सच्चिनुपर्छ भन्ने अर्थमा आएको दाबी गरे ।

सन् १८७२ मा रुसी कम्युनिस्ट नेता मिखाइल बाकुनिनसँग चर्को मतभेद भएपछि कम्युनिस्ट इन्टरनेसनलको कार्यालय बेलायतबाट अमेरिका सारेको चार वर्षपछि सन् १८७६ मा माक्र्स र एंगेल्सले कम्युनिस्ट इन्टरनेसनल विघटनको घोषणा गरेका थिए । प्रचण्डले त्यसै अनुभवबाट नेपालका कम्युनिस्ट क्रान्तिकारीले सिक्न सक्ने प्रस्ताव बैठकमा गरेका हुन् । बैठकमा सहभागी माओवादी केन्द्रीय सदस्य तथा दोलखा सहइन्जार्ज विशाल खडकाले अध्यक्ष प्रचण्डबाट गुटबन्दी मौलाउदै गएकामा चिन्तास्वरुप बैठकमा यस्तो प्रस्ताव आएको बताए ।

‘बैठकमा सबैजसो साथीहरुबाट विचार समूहभन्दा पनि गुट समूहजस्तो गरी रिपोर्टिङ र समीक्षा भएपछि अध्यक्षले उसो भए अब पार्टी विघटन गरौं भनी प्रस्ताव गर्नुभएको हो,’ खडकाले भने, ‘पार्टीमा पहिले वैचारिक लाइनका आधारमा अन्तर्संघर्ष हुन्थ्यो, अहिले व्यक्तिमा गएर बहसहरु ठोक्किए । सरकारमा जानका लागि जे पनि गर्न तयार हुनेजस्तो अवस्था देखियो । अध्यक्ष पछि दोस्रो तहका कतिपयमा नेताभन्दा विचौलियाको भूमिका बढी देखिएको समीक्षा चर्को रुपमा उठेपछि अध्यक्षले पार्टी विघटन गर्न सकिने विकल्प दिनुभएको हो ।’ खडकाले माओवादी विघटनको बहस भावावेशभन्दा पनि वैचारिक महत्वको मुद्दा रहेको रुपमा बुझ्नुपर्ने छलफल भएको जानकारी दिए ।

प्रचण्डले यो प्रस्ताव बैठक टुंग्याउने क्रममा राखेको हुनाले अरु नेताहरुले भने यसमाथि टिप्पणी गर्न पाएनन् । शुक्रबार बस्ने हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठलगायत असन्तुष्ट नेताहरुले यसबारे फरक मत राख्ने तयारी गरिरहेको स्रोतले बतायो । तर प्रवक्ता पम्फा भूसालले भने पार्टी संगठनको आन्तरिक व्यवस्थापन र तेस्रो चरणको स्थानीय चुनावका लागि केही प्राविधिक छलफलका लागि बैठक डाकिएको दाबी गरिन् ।

सहभागीहरुका अनुसार अध्यक्ष दाहालले पार्टी गम्भीर दिशाहीनतामा फसेको स्वीकार गरेका थिए । शान्ति प्रक्रियामा आएपछि माओवादी अबको एउटा स्थायी राजनीतिक शक्ति हो भनी जनतालाई अनुभूति दिन नसकिएको भन्दै उनले आत्मालोचना गरेका थिए । ‘युद्धबाट शान्तिमा आउने र परिवर्तन संस्थागत गर्ने काम कम्ती जोखिमपूर्ण थिएन तर त्यत्रो साहसका बाबजुद शान्ति प्रक्रिया सफलताको श्रेय माओवादीलाई आएन,’ प्रचण्डले भने, ‘जसले जे माग्यो, त्यही दिदै जाने हुदा माओवादी पार्टी नभएर परियोजनाजस्तो भयो ।

राजनीतिक गतिरोध खुलाउने बेलामा जहिले पनि माओवादी चाहिन्छ तर जसका लागि लडियो, उसैको मन जित्नेगरी संरचना बनाउन सकेनौं ।’ प्रचण्डले सर्वहारा, श्रमजीवी, उत्पीडितलगायत आधारभूत वर्गको मन जित्ने गरी पार्टी संगठन बनाउन चुकेको बताएका थिए ।

सहभागी नेताहरुले अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला समृद्धि र सुशासनको नारा दिए पनि समाजवादी कार्यदिशा अख्तियार गर्न चुकेको भन्दै आलोचना गरेका थिए । ‘खालि समृद्धिको नारा छ, सामाजिक न्याय र जनताको पहुच छुटाइयो,’ नेता खड्काले भने, ‘सामाजिक न्याय र आधारभूत जनतासँग जोड्नेगरी एजेन्डा लैजान नसक्दा माओवादीको औचित्यमाथि नै प्रश्न उठ्यो ।’

प्रचण्डको यो खुलासासँगै पछिल्ला वर्षहरुमा आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भएर जोडिने प्रक्रियामा रहेको माओवादी पार्टीभित्र नयाँ बहसको बीजारोपण भएको छ । पछिल्लो स्थानीय चुनावमा तेस्रो स्थान सुरक्षित गरे पनि समग्रमा माओवादीको पराजय भएको बैठकले ठहर गरेको थियो । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश