वैशाख १०, काठमाडौँ । बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ ।
झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ । सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ ।
यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, “पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो । ‘लाइट लोड’ कायम छ ।” विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन् ।
प्राधिकरणले आज पनि विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ । कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ । एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो । त्यो समाधान भइसकेको छ ।”
धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए । रुपैनीमा प्राविधिक समस्या देखिएको थियो । सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो । अहिले कुनै जटिलता छैन ।”
बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो । यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ । तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घटन गई उत्पादन घटेको छ ।
यसवर्ष जडित क्षमतामा वृद्धि भएको भए पनि गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ । निजी क्षेत्रका आयोजना औसतमा १५ प्रतिशत हाराहारीको क्षमतामा मात्रै चलिरहेका छन् । औद्योगिक ग्राहकको विद्युत् माग बढेको छ । त्यो माग सात सयदेखि आठसय मेगावाट बराबर छ ।
तराईमा पानी नपर्दा सिँचाइमा प्रयोग हुने बिजुलीको खपत बढेको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले सिँचाइका लागि एक सय ५० देखि दुई सय मेगावाटसम्म बिजुली खपत भइरहेको छ । अहिले भारतमा पनि विद्युत् माग बढेकाले भारतले बेलुका सात बजेदेखि राति २÷३ बजेसम्म बिजुली नपठाउने गरेको छ । ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट मागअनुसार बिजुली आयात गर्न सकिने भए पनि पूर्व–पश्चिम जाने प्रसारण लाइनको क्षमताका कारण सम्भव नभएको उहाँको भनाइ छ ।
आगामी एक वर्षभित्र निर्माणाधीन हेटौँडा– ढल्केबर– इनरुवा प्रसारण लाइनको निर्माण सक्ने प्राधिकरणको योजना छ । सो प्रसारण लाइनको क्षमता चार सय केभीको छ । यस्तै, हेटौँडा– भरतपुर– बर्दघाट प्रसारण लाइन पनि आगामी वर्षभित्र सम्पन्न हुनेछ । सो प्रसारण लाइनको क्षमता दुई सय २० केभी क्षमताको छ ।
उद्योगी व्यवसायीलाई बिहान बेलुका कम चलाउन आग्रह गरिएको र त्यसैलाई बिजुली पाइएन भनेर गलत प्रचार गर्नुको अर्थ नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
“प्रि–मनसुन सुरु हुनुअघि समस्या हुनसक्छ । तर अर्को वर्षको सुक्खा समयमा यो समस्या आउँदैन”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । प्रसारणलाइनका कारणले छोटो समयका लागि समस्या देखिएको हो । केही समयपछि फेरि हामी निर्यातमा जानुपर्ने उहाँको भनाइ छ ।
“कम्तीमा पनि एक हजार मेगावाट बिजुली निर्यात गर्नैपर्छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । प्राधिकरणले कूल चार सय ५२ मेगावाट बिजुली भारत निर्यात गरेको थियो ।
अझै एक दर्जन आयोजनाको बिजुली निर्यातका लागि अनुरोध गरिएको छ । उहाँले सन् २०५० सम्मको आपूर्ति व्यवस्थापनका लागि प्रसारण, सवस्टेशन निर्माणका लागि रु १० खर्ब बराबरको लगानी जरुरी रहेको जानकारी दिनुभयो । हाल दैनिक अवस्था हेरी पाँच सय मेगावाट बराबरको बिजुली आयात भइरहेको छ ।