जेठ ८, काठमाडौँ | प्रतिनिधि सभामा आइतबारबाट नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए।
आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएकोमा सोमबार पनि त्यसले निरन्तरता पाएको छ। सोमबारको बैठकमा छलफलमा सहभागी एमाले सांसद योगेश भट्टराई र माओवादी सांसद देवेन्द्र भट्टराईबीच ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा सवाल जवाफ भएको छ।
एमाले सांसद योगेश भट्टराईले असहमती दर्ज गर्दै उक्त शब्द प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिबाट उचारण गर्न लगाएको आरोप लगाए। सांसद भट्टराई संविधान जारी भएपछि उक्त शब्द प्रयोग नभएको स्मरण गर्दै असहमती जाहेर गरे।
‘यो २०७२ को संविधान पछि नेपालका कुनै पनि सरकारी दस्तावेजमा जनुयुद्ध भन्ने शब्द प्रयोग भएको छैन,’ सांसद भट्टराईले भने,‘पहिलोपटक प्रधानमन्त्रीले राष्ट्रपतिबाट उचारण गर्नु लाउनु भएको छ।’
योगेशपछि छलफलमा सहभागी भएका माओवादी केन्द्रका देवेन्द्र भट्टराईले आन्दोलनको महत्वबारे स्मरण गराए। उनले योगेशलाई उक्त शब्दको अर्थ शब्दकोष पल्टाएर हेर्न अनुरोध गरे।
‘माननीय ज्यूलाई एक पटक शब्दकोष पल्टाएर हेर्न अनुरोध गर्छु। यो माछा युद्ध थियो? भालु युद्ध थियो? जंगलका अर्नाहरु लडेका थिए? कि रुखहरु, ढुङ्गाहरु लडेका थिए? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरुले लडेको युद्ध थियो,’ सांसद पौडेलले भने।
उनले माओवदीले जनतालाई सार्वभौम बनाउन युद्ध लडेको दाबी गरे।