जेठ १६, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।
मंगलबार अदालतमा शर्मा, राई र केसीको बयान लिने क्रम सुरु भएको छ । यी तीन जनामध्ये राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो । तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो ।
३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।