मेरो कार्यकाल अन्तिम हो, एउटा व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन : देउवा

Posted on: 03 Jun, 2023

जेठ २०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका छन् । पछिल्लो समय पार्टीकै महामन्त्री गगन थापा लगायतले सभापति देउवाको चर्को आलोचना र विरोध गर्दै आएका छन् । उनीहरुप्रति नै लक्षित गर्दै देउवाले उक्त कुरा बताएका हुन् ।

शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठुलो नबन्ने बताएका हुन् । 

आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै देउवाले अब युवा पुस्ताकै पालो भएको पनि जिकिर गरे । उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । 

‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस् । बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’  सभापति शेरबहादुर देउवाले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!