नक्कली शरणार्थी बनाउने गिरोहको बचाउमा रमण श्रेष्ठको जिकिर- आरोपी छाड्दा राज्यलाई घाटा हुन्न

Posted on: 08 Jun, 2023

जेठ २५, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिबादीतर्फबाट वकिलको बहस आजपनि जारी रहेको छ । आज प्रतिवादी सानु भण्डारीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अवैध कामका लागि लेनदेन भएको कारण जाहेरी र मुद्दा दर्ता हुने अवस्था नरहेको बताए ।

नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्ने अवस्थामा मात्रै मुद्दा चल्ने उल्लेख गर्दै उनले भने, ‘यो अवैध कामका लागि पैसाको लेनदेन भएको कारण यो जाहेरी दर्ता हुने र मुद्दा दर्ता हुने अवस्था नै नरहेको छ । गैरकानूनी लेनदेनको बिगो कायम हुन सक्दैन । यदि नेपालीलाई भुटानी बनाएर अमेरिका लान मिल्छ भन्ने हो भने मात्रै मुद्दा चल्न सक्छ । तर नेपालीलाई भुटान बनाएर लान मिल्दैन त्यसैले मुद्दा, जाहेरी र बिगो काम हुन सक्दैन ।’

शंका र अनुमानलाई प्रमाण मान्न नमिल्ने भएकाले प्रतिवादीहरुलाई थुन्नुपर्ने कुनै कारण नरहेको उनको तर्क छ ।

सन्दीप लामिछानेको मुद्दामा पनि कुनै ठोस प्रमाण नभएकै कारण उच्च अदालतले छाडेको तर्क दिँदै उनले भने, ‘यो मुद्दामा प्रतिवादीहरूलाई थुन्नै पर्ने कारण छैन । थुन्नका लागि कारण चाहिन्छ । जेलमै राख्नुपर्ने कुनै कारण छैन । उनीहरूलाई छाड्दा राज्यको केही घाटा हुँदैन । थुन्ने पनि न्यायका लागि हो र छाड्ने पनि न्यायका लागि हो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!