मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

Posted on: 08 Jun, 2023

जेठ २५, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि साहले त्यसलाई काउन्टर दिएका हुन् ।


महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । साह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गरेका थिए । यस संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनाएनन् ।

हालै मात्र प्रतिनिधिसभाको वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपालको संसद भवनमा पनि ग्रेटर नेपालको नक्सा राख्न सुझाव दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!