पकुवामा पानी झरेपछि हर्षले रोए हर्क

Posted on: 13 Jun, 2023

जेठ ३०, काठमाडौँ | कोकाह खोलाको पानी धरान ल्याउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सफल भएका छन् । स्थानीयलगायतको श्रमदानमा मेयर राई खानेपानीको चर्को अभाव सामना गरिरहेको धरानमा कोकाहको पानी ल्याउन सफल भएका हुन् ।

धरानका मेयर हर्क साम्पाङ राईले सुरु गरेको श्रमदान अभियानकोे ९८औं दिन पुग्दा करिब ४१ किलोमिटर पाइप तानेर कोकाहमा पानी ल्याइएको हो ।

चर्को खडेरीले धरानमा खानेपानी अभाव भएपछि राई कोकाहबाट जसरी पनि पानी ल्याउने भन्दै जुटेका थिए । उनले यहाँको पानी नल्याई धरान नै नफर्कंने वाचा गरेका थिए । सोमबार उनको योजनाले मूर्तरूप लिएपछि स्थानीयले उनीसँग खुसी साटेका थिए । त्यसक्रममा मेयर राई हर्षले भक्कानिएर रोए ।

काेकाह धरानबाट ४० किलाेमिटरकाे दूरीमा पर्छ । यहाँबाट पानी ल्याउन १०० दिनअघिबाट श्रमदान थालिएकाे थियाे ।

कोकाहको पानी धरान ल्याउन श्रमदानमा जुटेका एक श्रमदाताले १०० दिनको आफूहरूको मिहिनेतको फल प्राप्त भएको बताए । कोकाहको पानीले अहिले देखिएको खानेपानीको चर्को अभावलाई थोरै भए पनि राहत पुग्ने बताइएको छ ।

उचित व्यवस्थापन र स्रोत अभावमा धरानका नागरिकले वर्षौंदेखि खानेपानी समस्या झेल्दै आइरहेका छन् । गत स्थानीय तह निर्वाचनमा धरानको खानेपानी समस्यालाई आफ्नो मूल एजेण्डा बनाएर प्रतिस्पर्धामा उत्रिएका हर्कले निर्वाचित भएपश्चात यसलाई पूरा गर्न तत्कालीन र दीर्घकालीन योजनाका साथ काम गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!