अर्काको नाममा लोक सेवाको परीक्षा दिने नासु पक्राउ

Posted on: 14 Jun, 2023

जेठ ३१, रुपन्देही | अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् ।

सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।

पक्राउ परेका यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा राजबिराज-११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए ।


सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् । प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ ।

सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहहेको डीएसपी अर्यालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!