दाङ पुगेर प्रधानमन्त्री प्रचण्डले भने- फेरि नयाँ नेकपा बनाउँछौँ

Posted on: 14 Jun, 2023

जेठ ३१, दाङ | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । 

माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समाजवादी क्रान्ति सीधा र सरल नहुने बताए ।

उनले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो हिजोको एकता टिक्न सकेन । फेरि एकताका प्रयास गर्दैछौं । समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ ।’

उनले तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने बताउँदै एमालेमा पनि एकताका पक्षधरहरू रहेपनि नेतृत्व बाधक रहेको बताए । प्रचण्डले समाजवादी मोर्चा हुँदै फेरि नेकपा बनाउने कोसिस भइरहेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!