पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ सडक बन्द

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोक पथ र हेटौँडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्गतको ललितपुरको भट्टे डाँडामा पहिरो खस्दा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । पहिरोका कारण केही सवारी साधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा कुलेखानी सिस्नेरी सडक खण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको छ । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीमा बिहीबार बिहान ५ बजेको समयमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा काठमाडौँ हेटौँडा आवतजावत गर्नै सवारी साधनहरू बाटोमै रोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने उनले बताए ।

हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि वैकल्पिक सडकको प्रयोग गर्न उनले आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!