भारतसँग अंक बाँडेपछि नेपालको सेमिफाइनल सम्भावना कायमै

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा बिहीबार हुने भनिएको नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपालले बिहीबार हङ्कङमा भारतको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । 

तर, वर्षाका कारण खेल सुरु नै हुन सकेन । खेल रद्द भएपछि दुबै टोलीले एक/एक अंक बाँडेका छन् । जारी प्रतियोगितामा नेपाली टोलीको यो दोस्रो खेल थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा भने पाकिस्तान ’ए’ सँग पराजित भएको थियो । वर्षाका कारण पाकिस्तान र हङ्कङबीचको खेल पनि हुन सकेन । 

नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेको थियो । तर, जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २० ओभरमा ७८ रनमात्र बनाउन सकेको थियो । नेपाली टोली दुई खेलबाट एक अंक जोड्दै तालिकाको तेस्रो स्थानमा आसिन छ ।

 

समूह ‘ए’ मै रहेको भारत दुई खेलबाट तीन अंक जोड्दै पहिलो स्थानमा आसिन छ । तालिकाको दोस्रो स्थानमा आसिन पाकिस्तानले पनि दुई खेलबाट तीन अंक जोडेको छ । आयोजक राष्ट्र हङ्कङ दुई खेलबाट एक अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । 

भारतले आफ्नो पहिलो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । प्रतियोगिताको समूह ‘बी’ मा पनि सबै टोलीले दुई÷दुई खेल खेलिसकेका छन् । बंगलादेश तीन अंकसहित पहिलो, श्रीलंका तीन अंकसहित दोस्रो, यूएई दुई अंकसहित तेस्रो र खाता खोल्न नसकेको मलेसिया चौथो स्थानमा छन् ।

प्राविधिक कारणले अन्तिम समयमा आएर थाइल्यान्डले प्रतियोगिता नखेल्ने भएपछि यो प्रतियोगितामा नेपालले सहभागिताको अवसर पाएको हो । एसीसी महिला टीट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । 

नेपालले अब आफ्नो तेस्रो तथा अन्तिम खेल शनिबार हङ्कङसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने नेपालको सम्भावना जिवितै छ । शनिबार नै भारत र पाकिस्तानबीच खेल हुनेछ । उक्त खेल रद्द भए वा अनिर्णित रुपमा सकिए नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त हुनेछ । यस्तो स्थितिमा भारत र पाकिस्तान एक/एक अंक बाँडेर कुल चार/चार अंकसहित सेमिफाइनलमा प्रवश गर्नेछन् । 

तर, भारत र पाकिस्तानमध्ये एक टोली पराजित भएमा जित्ने टोली पाँच अंकसहित सेमिफाइनलमा पुग्नेछ । हार्ने टोलीको तीन अंकमात्र हुनेछ । त्यसपछि अर्को खेलमा नेपालले हङकङलाई पराजित गरेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । यस्तो स्थितिमा नेपालको पनि तीन अंक हुनेछ । त्यसपछि नेट रनरेटमा अगाडि रहने टोली सेमिफाइनलमा पुग्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!