आलु प्याजमा लगाइएको भ्याट फिर्ता लिन लिन दबाब दिँदै संयुक्त संघर्ष समिति गठन

Posted on: 16 Jun, 2023

असार १, काठमाडौँ | आलु प्याजलगायतका कृषि उपजमा लगाइएको भ्याट फिर्ता लिन सरकारलाई दवाव दिने उद्देश्यले व्यवसायीहरुले संयुक्त संघर्ष समिति बनाएका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको नेतृत्वमा संयुक्त संघर्ष समिति बनाइएको व्यवसायी राजु केसीले रातोपाटीलाई जानकारी दिए ।  जसअनुसार व्यवासायीले कालीमाटीसहितका राजधानीका सम्पूर्ण र उपत्यकाबाहिरका फलफूल तथा तरकारी बजारमा समेत शनिबारदेखि कालो झण्डासहित विरोधमा ब्यानर टाँग्ने भएका छन् । 

अर्का व्यवसायी उज्जल कार्कीले आलु प्याजसहित तरकारी र फलफूलजन्य कृषि उपजहरुमा नेपाल सरकारले लगाएको भ्याट फिर्ता हुनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए । उनले आलु र प्याज दैनिक उपभोग्य वस्तु भएको बताउँदै भ्याट लगाउँदा तत्काल मूल्यवृद्धि हुने र उपभोक्ता मारमा पर्ने भएकाले फिर्ता लिन माग गरिएको बताए । 

उनले भ्याटको जटिलताले गर्दा विक्रि वितरण पनि सहज नहुने बताए । यसका लागि विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि बाध्य भएर संयुक्त, संघर्ष समिति बनाइएको उनले बताए । उनले भोलिदेखि विरोधका कार्यक्रम गरिने भन्दै समितिमा उपत्यका र बाहिरका सबै तरकारी तथा फलफूल व्यवसायीहरु रहेको बताए । 

उनले ३ गते बृहत बैठक बोलाइएको र सो बैठकबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर जाने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!