भारत पाकिस्तानमा खेल्न नगएपछि पूर्व कप्तान मियादादको टिप्पणी, भन्छन्: भारत नगए केही फरक पर्दैन

Posted on: 20 Jun, 2023

एजेन्सी। भारतले आउन अस्वीकार गरेर एसिया कपको हाइब्रिड मोडल बनाउनु पर्ने अवस्था बनेकोमा पाकिस्तानका पूर्व कप्तान जावेद मियादादले कडा टिप्पणी गरेका छन्।

उनले पाकिस्तानको क्रिकेट, भारतको भन्दा राम्रो रहेको भन्दै त्यहाँ आफूहरू नगए केही फरक नपर्ने बताएका छन्।

‘पाकिस्तान सन् २०१२ र २०१६ मा भारत गएको छ। अब उनीहरूको पाकिस्तान आउने पालो थियो। यदि मैले निर्णय गर्नुपर्ने थियो भने उनीहरू (भारत) यहाँ नआएसम्म म त्यहाँ कुनै पनि खेल खेल्न जाने थिइनँ, विश्वकप पनि। हामी उनीहरूसँग खेल्न सधैँ तयार भयौँ तर त्यही तरिकाले उनीहरूले व्यवहार देखाएनन्’, मियादादले भनेका छन्, ‘हाम्रो क्रिकेट उनीहरूको भन्दा राम्रो छ। हामी अझै पनि स्तरीय खेलाडीहरू उत्पादन गरिरहेका छौँ। हामी यदि भारत गएनौँ भने त्यसले कुनै फरक पार्छ जस्तो मलाई लाग्दैन।’

पाकिस्तानमा हुने भनिएको एसिया कप भारतकै कारण दुई देशमा आयोजना हुँदै छ। भारतले आफ्ना खेलहरू श्रीलंकामा खेल्दै छ।

यसै वर्ष एकदिवशीय विश्वकप भारतले आयोजना गर्दै छ। भारत र पाकिस्तानले समूहगत चरणमै प्रतिस्पर्धा गर्दैछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!