बालेनविरुद्ध यसकारण आयो रेशुको राजीनामा

Posted on: 21 Jun, 2023

असार ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीमा प्रश्न उठाउँदै उनकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिइन् । उनको वास्तविक असन्तुष्टि भने काठमाडौं महानगरपालिकामा भारतीय चलचित्रमाथि रोक लगाइएको विषयमा रहेको बुझिएको छ ।

अर्यालले फेसबुकमा स्टाटस लेख्दै आफ्नो राजीनामाको घोषणा गरेकी थिइन् । स्टाटसमा उनले स्पष्ट कारण नखुलाए पनि घुमाउरो संकेत भने गरेकी छन् । ‘स्वार्थको द्वन्द्व’ उत्पन्न भएकाले राजीनामा दिनुपरेको उनको भनाइ छ ।

रेशुले लेखेकी छन्, ‘दुर्भाग्यपूर्णरुपमा, केही ताजा कदम, निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशिनमा लिइएका निर्णयहरु मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरु मेरो घर-परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो ।’

महानगर स्रोतअनुसार रेशुले स्वार्थको द्वन्द्व भनेर भारतीय चलचित्रमाथि लगाइएको रोकलाई ईंगित गर्न खोजेकी हुन् । आदिपुरुषको विवादलाई लिएर काठमाडौंमा भारतीय चलचित्र रोक्ने निर्णयको उनी खिलाफमा थिइन् । उनका श्रीमान भास्कर ढुंगाना सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक हुन् । श्रीमान नै हलमालिक हुँदा उनलाई मेयरको निर्णयले नैतिक अप्ठेरोमा पारेको थियो ।

महानगरको कदमविरुद्ध भास्कर अदालत जाने तयारीमा छन् । श्रीमान महानगरविरुद्ध अदालत जाने, अनि श्रीमती मेयरको सल्लाहकार रहिरहने कुरा व्यवहारिक रुपमा सम्भव नभएपछि रेशुले राजीनामा दिएको महानगर स्रोत बताउँछ ।

‘मेयरज्यूले उहाँलाई आफ्नो श्रीमानलाई कन्भिन्स गर्न आग्रह गर्नुभएको हो । तर, उहाँले पदबाटै राजीनामा दिनुभयो,’ स्रोतले भन्यो ।

महानगरको कार्यपालिका वैठकले गत भदौमा रेशुलाई मेयरको अवैतनिक शिक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनी विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील छिन् । टिच फर नेपालको बोर्ड सदस्य र पाँच वर्ष अध्यक्ष समेत रहेकी उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट स्नातकोत्तर गरेकी छन् ।

रेशुले दक्षिण भारतीय चलचित्र आदिपुरुषको दृष्य र संवाद नै नहेरी हलमा प्रदर्शन रोकिएकोमा मेयरसँग विमति जनाएकी थिइन् । उनले मेयरलाई समेत व्यंग्य गर्दैै चार दिनअघि नेपाली जनताको साामाजिक चेतना हल्लाको भरम कुद्ने खालको रहेको भन्दै ट्वीट समेत गरेकी थिइन् ।

उनले भनेकी थिइन्- अहिले हाम्रो देशको प्राय जसो जनताको सामाजिक चेतना आयातोल्ला खोमेनीले सल्मान रुष्दीलाई एउटा उपन्यासमा अल्लाहको अपमान गर्यो भनेर फत्वा लगाउने इरानको जस्तो भएछ। लक्षण गम्भीर छन् । सतर्क हुनु पर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!