प्रधानमन्त्रीले सांसदलाई चिन्न नसकेपछि..

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौँ | प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरका क्रममा केही सांसदलाई प्रधानमन्त्रीले चिन्न नसकेपछि सभामुखको सहयोग मागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबारको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेका कारण पटकपटक झुक्किने अवस्था समेत देखियो ।

एमालेका अच्युत मैनाली र कांग्रेसका अजय चौरसियापछि प्रश्न सोध्न सभामुख देवराज घिमिरेले कांग्रेस सांसद अन्जनी श्रेष्ठको नाम बोलाए । उनले आफ्नो प्रश्न पनि राखिन् ।

तर, प्रधानमन्त्रीले उनलाई चिन्न सकेनन् र सभामुखको सहयोग मागे । सभामुखले अन्जनी श्रेष्ठको नाम लिएपछि प्रधानमन्त्रीले जवाफ दिए ।

त्यस्तै कांग्रेस सांसद अम्बिका बस्नेतलाई पनि प्रधानमन्त्रीले चिन्न सकेनन् । पूर्वमन्त्री समेत रहेकी बस्नेत चर्चित कांग्रेस नेता पनि हुन् । तर, प्रधानमन्त्रीले उनलाई पनि नामले चिन्न नसकेपछि पुनः सभामुखको सहयोग मागे ।

सभामुखले अम्बिका बस्नेत भनेर चिनाएपछि प्रधानमन्त्री पुनः अलमलिए । उनले अम्बिका बस्नेतको प्रश्न हराएपछि पुनः प्रश्न सोध्न आग्रह गरे । प्रधानमन्त्रीले यस्तो हुनुमा आफ्नो तयारीमा कमजोरी देखिएको समेत स्वीकार गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!