लागुऔषध कारोबार गरेको आरोपमा ५ विदेशीसहित १२ जना पक्राउ

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौँ | लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मन नागरिक पाउल रेष्ट, चितवन घर भएका २९ वर्षीय महेश चौधरी र काठमाडौँको चन्द्रागिरी घर भएका सुगम मैनाली छन् ।


प्रहरीले हेमन्तकुमार शर्माको साथबाट १ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । जर्मन नागरिक पाउलको साथबाट ६ केजी ८६० ग्राम चरेश बरामद गरिएको छ । उनी काठमाडौँबाट चरेश बोकेर इस्तानबुल हुँदै जर्मन जाँदै थिए । ललितपुरको युएन पार्कबाट पक्राउ गरिएका महेश चौधरीको साथबाट कोडिन १६ बोत्तल बरामद गरिएको छ ।   ब्यूरोले सञ्चालन गरेको पाँचौ अपरेशनमा ३ ग्राम ७ सय मिलिग्राम कोकिन र एलएसडी स्टिकरसहित काठमाडौँ महानगरपालिका–१८ घर भएका मुखिया गुरुङ, मोरङ घर भएका राज गौतम र चेक रिपब्लिकका नागरिक ३२ वर्षीया मार्टिना सेरना पक्राउ परेका छन् ।


छैटौं चरणको अपरेशनमा ठमेलबाट इटालियन नागरिक डेभिड मिनादेओ लाई पक्राउ गरिएको प्रहरी उपरिक्षक जोशीले जानकारी दिए । इटालिनय डेभिडको साथबाट प्रहरीले १ हजार ९८ थना एलएसडी स्टिकर, ३८ ग्राम एम्फेटामाइन र ६ ग्राम चरेश बरामद गरेको छ । काठमाडौँको बालाजुबाट प्रहरीले धादिङ घर भएका ४२ वर्षीय दावा तामाङ र ३३ वर्षीय नर बहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४५० मिलिग्राम मेथाम फेटामाइन बरामद गरेको छ ।

काठमाडौँबाट ओमानको मस्कट जान लागेका झापाका २४ वर्षीय सुमन लिम्बुलाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाट पक्राउ गरेको छ । लिम्बुको साथबाट ४ केजी ७५० ग्राम गाँजाको धुलो बरामद गरिएको ब्यूरोले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!