रविको चियापान निम्तामा किन गएनन् बालेन ?

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' लाई पनि बोलाएको थियो । तर, चियापानमा उनी गएनन् ।

‘बालेनज्यूलाई पनि बोलाएका थियौँ । पत्र नै पठाएका थियौँ । तर, आउनु भएन,’ रास्वपाका एक सदस्यले भने । 

चियापान समारोहअघि रास्वपाका सभापति रवि लामिछानेले पत्रकारहरूसँग कुराकानी गर्दै बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरिरहेका थिए । उनले बालेन र साम्पाङलाई पार्टीमा जोड्ने चाहना भएको बताएका थिए ।

‘हर्क र बालेनलाई जोड्ने चाहना छ । सम्बन्ध पनि सौहार्दपूर्ण छ । कामको प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु । एक सय प्रतिशत सकारात्मक छौँ,’ सभापति लामिछानेले भनेका थिए । त्यसपछि सुरु भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराई, मन्त्री, नेता, सांसद, कलाकार, बुद्धिजीवीलगायतका व्यक्तिहरू रास्वपाको पार्टी कार्यालय बालाजु पुगे ।

तर, मेयर बालेन चियापानमा गएनन् । मेयर बालेन नआएपछि असन्तुष्ट रहेको हो कि भन्ने आशंका रास्वपाका नेताहरूले गर्न थालेका छन् । ‘काठमाडौंमै भएर पनि आउनु भएन । केही कुराले असन्तुष्ट भएर हो कि,’ रास्वपाका एक सदस्यले भने । तर, मेयर बालेनको सचिवालयले भने नगरसभा र बजेटको तयारीमा रहेका कारण चियापानमा जान नसकेको बताएको छ ।

‘१० असारमा बजेट ल्याउनुपर्ने छ । नीति तथा कार्यक्रम, नगरसभा चलिरहेकाले व्यस्त भएर नजानु भएको हो,’ बालेनको सचिवालय सल्लाहकार सस्मित पोखरेलले भने । रास्वपासँग असन्तुष्ट भएर नगएको भन्नेमा सत्यता नरहेको उनले बताए । रास्वपाले काठमाडौं महानगरसहित काठमाडौंका अन्य नगर प्रमुखहरूलाई पनि बोलाएको थियो । तर, उनीहरू पनि चियापानमा नआएको रास्वपाका नेताहरू बताउँछन् । 

कांग्रेसका शीर्ष र चर्चित नेताहरू पनि रास्वपाको चियापानमा पुगेनन् । कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ भने चियापानमा पुगेका थिए । सभापति शेरबहादुर देउवा देश बाहिर छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेता चियापानमा आउने आशामा रास्वपाका नेताहरू थिए ।

‘कांग्रेसको चर्चामा रहेका नेतहरू देखिएनन्,’ रास्वपाका एक नेताले भने । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि रास्वपाले निम्ता दिएको थियो । तर, जसपाका कुनै पनि नेता चियापानमा पुगेनन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भने चियापानमा गएका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि चियापानमा पुगेका थिए । रास्वपाले पार्टी घोषणा गरेको एक वर्ष पुगेको अवसरमा नयाँ पार्टी कार्यालय बालाजुमा चियापान कार्यक्रम राखेको थियो । 

रास्वपाले प्रेससँगको बिग्रिँदो सम्बन्धलाई पनि सुधार गर्न खोजेको देखिन्थ्यो । चियापानअघि सभापति लामिछानेले भनेका थिए, ‘तपाईं हाम्रो सम्बन्ध ‘लव एन्ड हेट रिलेसन’ भनेजस्तै चलिरहन्छ । तपाईंहरूलाई थाहा भएकै, चिनेकै मान्छे हो । जानेर/नजानेर गल्ती भएमा क्षमा गरिदिनुहोला । आज ‘ह्याप्पी डे’ भनेका छौँ ।’ तर, अधिकांश सञ्चारगृहलाई रास्वपाले बोलाएको थिएन । ‘सम्पादकहरूलाई बोलाउने निर्णय गरिएको थियो । तर, तयारी ढिला भएका कारण कतिपय ठाउँमा पुर्‍याउन सकिएन,’ रास्वपाका एक पदाधिकारीले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!