डिस्चार्ज भए राष्ट्रपति पौडेल

Posted on: 28 Jun, 2023

असार १३, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्र्तगत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज भएको हुन् ।

मुटुको धड्कनमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पौडेलको मुटुको अप्रेसन गरी पेसमेकर रखिएको छ । चिकित्सकहरूको निगरानीमा भएको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका कारण पौडेललाई डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले उपचारमा संलग्न डाक्टर तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

“स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरू, ‘कन्सल्टिङ टिम’मा जोडिएका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ,” कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!