जनमतलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, ‘पर्ख र हेर’ मा सीके राउत

Posted on: 02 Jul, 2023

असार १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका अध्यक्ष राउत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

गठबन्धनमा रहेपनि मन्त्रालयमा असन्तुष्टि राख्दै जनमत पार्टी अहिले सरकार बाहिर छ । तर, भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा आफूहरूलाई सरकारमा आउन आग्रह गरेका अध्यक्ष राउतले बताए ।


उनले भने, ‘उहाँले सरकारमा आउनुस् मिलाउँछु भन्नुभएको छ । आज गठबन्धनको बैठक पनि बस्दैछ । बैठकपछि केही निर्णय हुनसक्छ । अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।’

उनले आज ४ बजे गठबन्धनको बैठक बस्ने तयारी भइरहेको पनि बताए । राउतले आफूले दाबी गर्दै आएको मन्त्रालय पाए सरकारमा जानसक्ने संकेत गरे । जनमतले कृषि वा उद्योग मन्त्रालयको अडान राखेको थियो । अहिले कृषि नेकपा एकीकृत समाजवादी र उद्योग मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

त्यसो त तपाईंहरूले गठबन्धनमा रहेर पनि बजेटको विपक्षमा मतदान गर्नुभयो । समर्थन नै फिर्ता लिने तयारी गर्नुभएको त होइन ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘अहिलेसम्म हामीले निर्णय गरेका छैनौं । अब गठबन्धनको बैठकपछि पार्टीको बैठकले निर्णय गर्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!