२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन पार्टी नै बाधक

२०७४, ७ बैशाख बिहीबार ११:२०

गोरखा, ७ वैशाख । देशका महत्वपूर्ण अङ्ग महिलाले नेतृत्व गर्दै आइरहेका बेला स्थानीय तहको निर्वाचनका लागि गोरखामा प्रमुख पदमा महिलाको चर्चा कम छ । पार्टीका उच्चतम पदमा बसेर नेतृत्व गरिसकेका महिला पनि प्रमुख पद (नगर प्रमुख, गाउँपालिका प्रमुख र वडाध्यक्ष) मा उम्मेदवार बन्न लालायित छैनन् । 

नेपाल महिला सङ्घ गोरखाकी अध्यक्ष मनकुमारी गुरुङलाई सिरानचोक गाउँपालिका प्रमुखमा उम्मेदवारी दिन कार्यकर्ताको चर्को दबाब छ तर उहाँ प्रदेश निर्वाचनमा उम्मेदवार हुने सोचमा हुनुहुन्छ । सिरानचोकमा जनजातिको बाहुल्यता रहेको र पढेका नेता भएकाले पनि गुरुङलाई गाउँपालिकामा उठ्न चर्को दबाब थियो । 

अखिल नेपाल महिला सङ्घकी नेत्री सम्झना देवकोटालाई गोरखा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न कार्यकर्ताको दबाब थियो । देवकोटालाई नेकपा (एमाले)को भावी जिल्ला अध्यक्षको रुपमा हेरिएकाले पछिल्लो चरण पार्टीबाटै मेयरभन्दा पनि पार्टीका लागि समय दिन सङ्केत आएको स्रोतको भनाइ छ । 

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा जेल तोडेकी कमला नहर्की गोरखा नगरपालिकाको प्रमुख पदमा आकांक्षी रहे पनि पार्टीले जिल्ला अध्यक्ष लेखबहादुर थापालाई उम्मेदवार बनाउने चर्चा छ । मेयरमा चर्चामा आएका पार्टीका नेता कृष्णराना नहर्कीभन्दा कनिष्ठ रहेकाले वरिष्ठ नेता थापालाई मेयरको टिकट दिएर उपप्रमुखमा नहर्कीलाई टिकट दिने माओवादीले तयारी गरेको स्रोत बताउँछ । 

गोरखा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट महिला नेताको चर्चासम्म पनि भएन । नगर कार्यसमितिले नगर प्रमुख तथा उमप्रमुखमा उम्मेदवारीका लागि दरखास्त आह्वान नै गर्दा पनि महिला नेत्रीले प्रमुख पदमा उम्मेदवारी दिएनन् । उपप्रमुख पदका लागि जिल्ला सदस्य तथा नेपाल महिला सङ्घकी नगर अध्यक्ष बिना श्रेष्ठ र नेपाल महिला सङ्घ क्षेत्र नं १ अध्यक्ष मसलीमाया थोकरले दरखास्त बुझाएको नगर सभापति चन्दनबाबु खत्रीले जानकारी दिनुभयो । गोरखा नगरपालिकाको १४ वटा वडाका वडाध्यक्षमा पनि पुरुष नेताकै हालीमुहाली छ । महिलाले प्रमुख पदमा उम्मेदवार बन्ने आकांक्षा देखाएनन् । 

गोनपाको नगर प्रमुखका लागि काँग्रेसबाट महासमिति सदस्य राजनराज पन्त, क्षेत्र नं १ का सभापति धीरन थापा, पूर्व कोषाध्यक्ष भूगोल थापा, नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका संस्थापक अध्यक्ष किशोरजङ थापा, पार्टी नेता ईश्वर परियार, हरि गान्धारी, प्रवीण तिवारीको नाम चर्चामा रहे पनि राजन र धीरनमध्ये एकलाई पार्टीले टिकट दिने पार्टी स्रोत बताउँछ । 

एमालेमा मेयरका लागि जिल्ला उपाध्यक्ष यादव बस्नेत, पूर्व मेयर विश्वेश्वर कट्टेलको चर्चा छ । यस्तै, उपमेयरमा सानुमाया बस्नेत र नानुमाया थापाको चर्चा सुनिन्छ । एमालेमा पनि मेयरका लागि महिला नेत्रीले आकांक्षा देखाएका छैनन् । पार्टी नेतृत्वले जुन पदमा उम्मेदवारी दिन भन्छ त्यही पदमा उम्मेदवारी दिने सुरमा महिला नेत्री रहेको बताइएको छ । 

काँग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन राप्रपा तथा नयाँ शक्ति पार्टीबाट पनि नगर प्रमुखमा पुरुष नेता मात्रै उम्मेदवारको चर्चामा छन् । उपप्रमुखमा भने महिला नेत्रीको पनि चर्चा सुनिन्छ । प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने नियम भएकाले पनि दलहरुले बाध्य भएर उपप्रमुखमा महिला नेत्रीलाई उम्मेदवारी दिने चर्चा चलाएका हुन् भन्ने पनि छन् । 

गोनपाको मेयरका लागि नयाँ शक्तिबाट पूर्वसभासद् ज्ञानेन्द्र कुमाल र उपप्रमुखमा पार्टी नेत्री पूर्णमाया वन्तको नाम बाहिर आएका छन् । तर वन्तले आफू उपमेयरको लागि आकांक्षी नभएको जानकारी दिनुभएको छ । राप्रपाले नगर प्रमुखमा जिल्ला अध्यक्ष रुद्रराज पाण्डेलाई अघि सारेको छ । यस्तै उपप्रमुखमा सम्झना लामिछाने र राममाया केसीको नाम चर्चामा छ । राप्रपामा पनि प्रमुख पदमा महिला नेत्रीले दाबी गरेका छैनन् । 

दुई वटा नगरपालिका र नौ वटा गाउँपालिका रहेको गोरखामा पार्टीले प्रमुख वा उपप्रमुख कसलाई टिकट दिने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । वडा, क्षेत्र हुँदै आकांक्षीको सूची जिल्लामा आए पनि जिल्लाले टुङ्गाउन नसकेपछि केन्द्र पठाउने तयारी दलहरुमा छ । आकांक्षी धेरै भएको र लोकप्रिय उम्मेदवार हुन् भन्ने छनोट गर्न नसक्दा टिकट दिन पार्टीका शीर्ष नेतालाई सकस छ । 

पालुङटार नगरपालिकामा पनि मेयरका लागि महिलाको चर्चा छैन । काँग्रेसबाट नगर सभापति दीपकबाबु कँडेल, नारायण गुरुङ, बलराम खड्का र गेहेन्द्रराज विष्टको नाम मेयर पदका लागि चर्चामा रहे पनि कँडेल वा गुरुङमध्ये एकले टिकट पाउने काँग्रेस स्रोतको भनाइ छ । उपप्रमुखमा नेत्री चेतकुमारी श्रेष्ठ र राधा पन्थी मैदानमा छन् । 

एमालेले पनि मेयरका लागि पार्टीका नेता जुद्धविलाश भण्डारी र ओम बराकोटीलाई अघि सारेको छ । उपमेयरमा मात्रै महिला नेत्रीको चर्चा रहेको छ । उपमेयरका लागि भन्दै एमालेले इन्दिरा देवकोटा र गम्भिरा बराकोटीलाई अघि सारे पनि कसलाई टिकट दिने भन्ने निर्णय भइसकेको छैन । 

माओवादी केन्द्रले पानपा प्रमुखमा गुणराज देवकोटा र खोपबहादुर कँडेलको नाम चर्चामा ल्याएको छ । महिला नेत्री बन्दना पाण्डे, दुर्गा तिवारी, पम्फा बसेल उपप्रमुखका लागि चर्चामा आएका नाम हुन् । महिला नेत्रीले पनि मेयर पदमा आकांक्षा देखाएका छैनन् । 

राप्रपाले पानमा प्रमुखमा सुशील पन्त र उपप्रमुखमा राधिका कुमाललाई अघि सारेको छ । नयाँ शक्तिबाट पानपा प्रमुखमा हरिशरण आचार्य, उमाकान्त देवकोटा, अशोक देवकोटा चर्चामा छन् भने उपप्रमुखमा नारायणी अधिकारीको नाम अघि छ । निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये १० वटा दलले आउँदो वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउँछन् । 

क्रियाशील राजनीतिक दलले नगरपालिका, गाउँपालिका प्रमुख, वडाध्यक्षमा महिला नेत्रीलाई टिकट दिने सम्भावना न्यून छ । धार्चे गाउँपालिकामा काँग्रेसबाट प्रमुखको दाबेदार मानिएकी नेत्री फूलमाया गुरुङलाई उपप्रमुखमा टिकट दिने र प्रमुखमा पार्टी नेता सन्तोष गुरुङलाई अघि सार्ने काँग्रेसले तयारी गरेको बुझिएको छ । महिला नेत्रीले पनि प्रमुख पदका लागि मरिमेटेर दाबी गरेका छैनन् भने पार्टीले पनि महिलालाई प्रमुख पदमा उठ्न सहयोग गरेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो