पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २०, गोरखा । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिकाअन्तर्गत तीनवटा वडामा नेपाली कांग्रेसका उम्मेद्वार निर्विरोध वडाध्यक्ष भएका छन् ।

अरु पार्टीका कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका उम्मेदवार निर्विरोध वडाध्यक्ष भएका हुन् । निर्विरोध भए पनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाँकी नै छ ।

चुमनुब्री गाउँपालिकाको वडा नं १ सामागाउँको वडाध्यक्षमा कांग्रेसबाट वीरबहादुर लामा निर्विरोध हुनुभएको हो । गौरीशङ्कर निमाविको प्रधाध्यापक पदबाट राजीनामा दिई लामाले वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएको थियो ।

यस्तै चुमनुब्री गाउँपालिकाको वडा नं २ ल्होको वडाध्यक्षमा कांग्रेसका पेम्बा रितार निर्विरोध हुनुभएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को वडाध्यक्षमा कांग्रेसकै सोनाम ग्याल्जेन लामा निर्विरोध हुनुभएको छ ।

सो गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट धनबहादुर गुरुङ, नेकपा एमालेबाट कान्छी गुरुङ, नेकपा माओवादी केन्द्रबाट लाक्पा डुन्डप लामा र नयाँ शक्ति नेपाल पार्टीबाट रिञ्जीन नोर्बु लामाको उम्मेदवारी परेको छ । दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा उम्मेदवारी दर्तासँगै चुनावी गतिविधि बढेको छ ।