असार १६, अछाम । अछामको रामारोशनमा माओवादी केन्द्रको बिजय जुलुसमा एमालेका कार्यकर्ताले बिहिबार राती ढुंगामुडा प्रहार गर्दा माओवादीका आठ बढी कार्यकर्ता घाइते भएका छन् ।
घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा माओवादी केन्द्रले वडा अध्यक्षसहित पुरै प्यानलसहित विजयी भएपछि निकालिएको जुलुसमा एमाले कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए ।
मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेको माओवादी केन्द्रको उप प्रमुख पदका उम्मेदवार सरस्वती रावलले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ ।
घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।
अन्य घाइतेको गाउँमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।