काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ । शुक्रबार बिहान कोइराला सम्पर्क कार्यालय विशालनगरमा दुई नेताबीच भेटवार्ता भएको हो । पछिल्लो समय दुई नेताबीच संवाद कम भएको आशंका भइरहेको समयमा कोइराला–थापाबीच भेट वार्ता भएको हो ।
संस्थापनइतर नेताहरूका अनुसार यसअघि विशालनगरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्नो समूहबाट मन्त्री पठाउने विषयमा दुई नेताबीच छलफल भएको थियो । गत ३० असारमा कांग्रेससहित दलका सांसदहरूको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
आजको बैठकमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
‘गगन दाइ आउनुभएको थियो । पार्टीका नेताहरू भेट्ने कुरा के अनौठो भयो र ?’ थपलियाले भने ।