२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार

२०८२, २० जेष्ठ सोमबार ०७:५९

भद्रपुर (झापा) । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भन्नुभयो “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय सावित भएको छ” ।

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन् । यहाँको भद्रपुर नगरपालिका–१ का उहाँ हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहनुभएको छ । तर यहाँसम्म आइपुग्न उहाँले गर्नुभएको सङ्घर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया जानुभएका उहाँले त्यहाँ १३ वर्ष बिताउनुभयो ।

विगत सम्झना गर्दै उहाँ भन्नुहुन्छ, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने । काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो । मासिक रु एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए । तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ” ।

मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लाग्नुभएन । सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला ? सफल भइएन भने पुनःविदेश जानुपर्ने अवस्था आउला कि नआउला ? भन्ने दोधारमै बित्यो । अन्ततः उहाँलाई लाग्यो विदेशमा अरुको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टी हुँदैन । आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाट उहाँले कृषि फार्म सुरु गर्ने अठोट लिनुभयो । “म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उहाँले  भन्नुभयो, “त्यही सीप र अनुभवले गर्दा यहाँ फार्म खोल्न सजिलो भयो ।”

मलेसियाबाट ल्याएको थोरै पुँजीबाट देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गर्नुभयो । सुरुमा सानो क्षेत्रफलमा केही तरकारी लगाउनुभएका उहाँको मेहनतले हाल चार विघाहभन्दा बढी क्षेत्रफलमा फार्म विस्तार भएको छ । हाल उहाँको फार्ममा करिब एक करोड रुपैयाँ बढी लगानी छ । फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारीको साथै केरा, सुपारी खेती, बङ्गुर र माछापालन गर्नुभएको छ ।

उहाँ बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिनुहुन्छ, “बजारमा जब तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ ।”

देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ,  “जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन् ।” उहाँको  सफलताको अर्काे पाटो हो, स्थानीय युवालाई रोजगारी उपलब्ध गराउनु । अहिले उहाँको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन् । तर सिजनमा २०–२२ जना श्रमिकले काम पाउँछन् । “सिजनमा मजदुर पाउन गाह्रो पर्छ,” उहाँ भन्नुहुन्छ, “मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्”।

फार्म सञ्चालन बापत् खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ । “मेहनत गरे आम्दानी पनि राम्रो हुन्छ,” उहाँ भन्नुहुन्छ, “मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ ।” उहाँले मलेसियामा पनि मेहनत गर्नुहुन्थ्यो । तर, त्यो अरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उहाँको बुझाइ छ ।

देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन् । उहाँ भन्नुहुन्छ, “मुख्य चुनौती खुला सीमानाका कारण भारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो ।” यदि सरकारले बजारमा नेपाली तरकारीलाई प्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने होभने सहजै प्रतिस्पर्धा गर्न सकिने उहाँ बताउनुहुन्छ ।

कृषकलाई दिइने सरकारी अनुदानबारे पनि उहाँ स्पष्ट हुनुहुन्छ, “कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकाले प्रयोग गर्दैनन्, नियमनको अभाव छ,” देउकुमार भन्नुहुन्छ “यदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ ।”

देउकुमार युवापुस्तालाई आग्रह गर्नुहुन्छ, “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी