काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल जारी छ । संघीय संसद् भवनमा उनीहरूबीच केहीबेर अघिबाट छलफल चलिरहेको हो । संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल चलिरहेको नेताहरूले बताएका छन् ।
खड्कासँगको छलफलअघि प्रचण्ड विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।
बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।
नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपर्नेगरी छलफल अघि बढेको छ । यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । तर, बैठक बस्न सकेको छैन ।