काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको दाबी गर्दै आएका प्रतिपक्षी दलहरू र सत्तापक्षबीच समाधान खोज्ने प्रयासस्वरूप संवाद जारी रहेको छ। प्रतिपक्षीले गृहमन्त्रीको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै गत जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पारिरहेका छन्। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुत गर्न भने बाटो खुलेको थियो।
आज पनि संसद्को गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्षी दलहरूबीच छलफल जारी छ। दुवै पक्ष छानबिन समिति गठनमा सहमत भइसकेका छन्, तर सहमति पत्रमा प्रयोग गरिने भाषाको विषयमा भने अझै एकमत बन्न सकेको छैन।
आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि दलहरूले लिखित सहमतिमा पुग्ने प्रयास गरिरहेका छन्। तर, नेताहरूका अनुसार सहमति आजै जुट्ने सम्भावना न्यून देखिएको छ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले छलफलको केन्द्रबिन्दु सहमतिको भाषा रहेको बताए।
सहमतिको भाषा तय गर्ने जिम्मेवारी नेपाली कांग्रेस र एमालेलाई दिइएको छ। दुबै दल अहिले त्यसमा अन्तिम रूप दिने प्रयासमा छन्। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने “संसदीय छानबिन समिति” वा “उच्चस्तरीय छानबिन समिति” भन्ने शब्दावली स्पष्ट उल्लेख हुनुपर्ने माग राखिरहेका छन्।