काठमाडौँ । अनेरास्ववियुको २४औं महाधिवेशनको अध्यक्ष पदमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि महाधिवेशन हलमा असन्तुष्ट पक्षले नाराबाजी गरेका छन्।
कीर्तिपुरमा जारी महाधिवेशनमा पाँच जना नेताले अध्यक्ष पदमा दावी गरेका थिए। तर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरिया रहेको भन्दै अध्यक्ष मण्डलबाट उनको नाम औपचारिक रूपमा अध्यक्ष पदका लागि प्रस्ताव गरिएको छ।
तर अन्य आकांक्षीले प्रस्तावित नामप्रति असहमति जनाएका छन्। अध्यक्ष पदका लागि दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र सुजन कडरियाले दाबी प्रस्तुत गरेका थिए।
सहमतिको प्रयास विफल भएपछि अध्यक्ष मण्डलले कडरियालाई अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष, तथा दीपक धामीलाई महासचिवको जिम्मेवारीका लागि प्रस्ताव गरेका थिए।
तर प्रस्ताव सार्वजनिक भएलगत्तै केही प्रतिनिधिहरूले निर्वाचनको माग गर्दै हलमै नाराबाजी गरेका थिए। त्यसपछि बैठकको प्रक्रिया केही समयका लागि स्थगित गरिएको अध्यक्ष मण्डलले जनाएका छन्।