काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका दलहरूबीच सहकार्यको खाँचो औँल्याउनुएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै जनअपेक्षा पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद नारायणदत्त मिश्रले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सदनमा एकापसमा अरोपप्रत्यारोपमा उत्रँदा लोकतन्त्रविरोधी शक्तिले चलखेल गर्ने स्थान पाएको बताउनुभयो । सांसद मदनकुमारी शाह (गरिमा)ले राजनीतिक परिवर्तनका लागि सहकार्य गरेका दलहरूले मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका लागि पनि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद जगप्रसाद शर्माले राजनीतिक परिवर्तन पछिको नयाँ अर्थव् यवस्था विभिन्न समस्यामा अल्झेको उल्लेख गर्दै सार्वजनिक–निजी साझेदारीमा जोड दिनुपर्ने बताउनुभयो । सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशका जनताले आधारभूत सेवा प्राप्त गर्न नसकेको भन्दै त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगार, यातायातलगायत सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनभुयो ।
सांसद गोपीबहादुर सार्की अछामीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोरङमा मेडिकल कलेज सञ्चालनका लागि योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तुलसाकुमारी दाहालले पछिल्लो केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएकाले आवश्यक पूर्वतयारी गर्न सरकारसँग माग गर्नुभयो ।
सभा सदस्यहरूले बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
—