काठमाडौँ । सहकर्मीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा बहुमत निकट विद्यार्थी संगठनका ७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरू वीरगन्जमा न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि कालो मसी छ्याप्ने आरोपमा पक्राउ परेका आफ्ना सहकर्मीहरूको रिहाइको माग गर्दै शुक्रबार प्रदर्शनमा उत्रिएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका महासचिव उषा किरण कामी, केन्द्रीय सचिव हरि विष्ट, सदस्य सर्जन पाण्डे, ललितपुर अध्यक्ष सक्षम विक, सदस्य झक बिक, काठमाडौँ सदस्य सर्जन कामी र युवा संगठनका उपाध्यक्ष प्रमोद सिंह रहेका छन्।
वीरगन्जस्थित उच्च अदालत जनकपुर इजलासका न्यायाधीशद्वयले हत्या अभियोगमा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने फैसला गरेका थिए। त्यसको विरोधस्वरूप न्यायाधीशहरूमाथि बिहीबार चेम्बरमै कालो मसी छ्यापिएको थियो, जसको आरोपमा तीन जना नियन्त्रणमा लिइएका छन्।