काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणलाई राष्ट्रिय चिन्ताको विषय भन्दै यसबारे यथाशीघ्र छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै पाण्डेले माओवादीसँग भएको २ बुँदे सहमतिको कार्यान्वयनमा ढिलाइ भएको भन्दै गृहमन्त्रीद्वारा एक महिनाभित्र छानबिन समिति गठन गर्ने सार्वजनिक प्रतिबद्धतालाई तत्काल पूरा गर्न सरकारसँग माग गरेका छन्।
उनले भने, “भिजिट भिसा प्रकरणको कारण सदन अवरुद्ध हुँदा माओवादीसँग सहमति भएको थियो। त्यसअनुसार छानबिन प्रक्रिया अगाडि बढ्नुपर्ने हो, तर समस्या अझै समाधान भएको छैन।”
यसअघि भिजिट भिसासम्बन्धी विवादले सदनमा लगातार अवरोध सिर्जना गरेपछि सत्तापक्ष र माओवादी केन्द्रबीच अध्ययन र छानबिनका लागि दुई बुँदे सहमति भएको थियो। सहमतिपछि माओवादीले विरोधका कार्यक्रम स्थगित गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अझै पनि छानबिन समितिको माग गर्दै सदनमा विरोध जारी राखिरहेका छन्।