2026-06-29 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा दर्ता भएका २८ हजार ५५४ वटा र त्यस अघिको आवबाट जिम्मेवारी सरी आएका आठ हजार ४७२ वटा गरी जम्मा ३७ हजार २६ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी अर्थात् १० हजार २४५ वटा (२७.६७ प्रतिशत) उजुरी आयोगको वेबसाइट प्रयोग गरी अनलाइनबाट प्राप्त भएका छन् । त्यसपछि क्रमशः लिखित निवेदन, इमेल, हुलाक सेवा, टेलिफोन, सामाजिक सञ्जाललगायतका माध्यमहरूबाट बढी उजुरी प्राप्त भएका आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/८२ को ३५औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

यस अवधिमा दर्ता भएका कुल उजुरीमध्ये १९ हजार ५६१ वटा (५२.८३ प्रतिशत) उजुरी आयोगको केन्द्रीय कार्यालयमा छन् । आयोग मातहतका कार्यालयहरूमध्ये सबैभन्दा बढी तीन हजार ९७० वटा (१०.७२ प्रतिशत) उजुरी आयोगको कार्यालय बर्दिबासमा र सबैभन्दा कम अर्थात् ९०२ वटा (२.४४ प्रतिशत) उजुरी सम्पर्क कार्यालय नेपालगञ्जमा छन् ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आयोगले केन्द्रीय कार्यालय टङ्गाल काठमाडौंका साथै इटहरी, बर्दिवास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर र नेपालगञ्जस्थित मातहत कार्यालयहरूबाट कार्यसम्पादन गर्दै आएको छ । हाल आयोगमा कूल ९९० कर्मचारी दरबन्दी रहेको र आयोगबाट ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको छ ।

स्थानीय तहका पदाधिकारीसम्बद्धका उजुरी बढी

यस अवधिमा छ वटा प्रदेशमा स्थानीय तहका निकाय वा पदाधिकारीसम्बद्ध उजुरी बढी परेका छन् भने बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बद्ध उजुरीको सङ्ख्या बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारका निकाय वा पदाधिकारीसम्बद्ध बढी उजुरी परेको छ । उजुरीको समग्र सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् ११ हजार २७७ वटा (३०.४६ प्रतिशत) रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम अर्थात् दुई ४१३ वटा (६.५२ प्रतिशत) रहेका छन् । यस अवधिमा प्राप्त कुल उजुरीमध्ये १९ हजार ९३३ वटा अर्थात् ५३.८४ प्रतशित उजुरी स्थानीय तहसम्बद्ध, १२ हजार ४७५ वटा अर्थात् ३३.६९ प्रतिशत उजुरी सङ्घ सरकारसम्बद्ध र चार हजार ६१८ वटा अर्थात् १२.४७ प्रतिशत उजुरी प्रदेश सरकारसम्बद्ध छन् ।

सङ्घ सरकारसम्बद्ध उजुरीमध्ये मन्त्रालयगत आधारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी अर्थात् १७.१२ प्रतिशत रहेका छन् ।

आव २०८१/८२ मा दर्ता कायम भएका प्रदेश सरकारसम्बद्ध कुल चार ६१८ वटा उजुरीमध्ये सबैभन्दा बढी अर्थात् एक हजार दुई सय वटा (२५.९९ प्रतिशत) उजुरी मधेस प्रदेशसम्बद्ध र सबैभन्दा कम अर्थात् ३४५ वटा (७.४८ प्रतिशत) उजुरी गण्डकी प्रदेशसम्बद्ध छन् ।

विषय क्षेत्रगतरूपमा परेका उजुरी सङ्ख्याको आधारमा कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै रहेका छन् । मधेस प्रदेशमा भने भौतिक पूर्वाधार तथा यातायत क्षेत्रसँग सम्बन्धित उजुरीको सङ्ख्या सबैभन्दा बढी छ ।

यस अवधिमा दर्ता भएका स्थानीय तहसम्बद्ध कूल १९ हजार ९३३ उजुरीमध्ये सबैभन्दा बढी अर्थात् सात हजार ७२ वटा (३५.४८ प्रतिशत) उजुरी मधेस प्रदेशका स्थानीय तहसँग सम्बन्धित र सबैभन्दा कम अर्थात् एक हजार चार सय २० वटा (७.१२ प्रतिशत) उजुरी गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेका प्रतिवेदनमा उल्लेख छ ।

यस अवधिमा आयोगबाट विभिन्न भ्रष्टाचारजन्य कसुरमा १३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा दुई वटा गरी जम्मा १३७ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको आयोगले जनाएको छ । भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी छन् । त्यसपछि क्रमशः गैरकानुनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आठ वटा, र विविध विषयका चार वटा मुद्दा छन् ।

उल्लिखित मुद्दाहरूमा ९४ जना महिला, ६१९ जना पुरुष र ४० संस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त जम्मा रु छ अर्ब एक करोड ८४ लाख ७२ हजार ६९२ रुपियाँ ९३ पैसा बिगो माग दाबी लिइएको छ ।

कूल ७५३ प्रतिवादीहरुमध्ये राष्ट्रसेवक कर्मचारी ३९२, निर्वाचित जनप्रतिनिधिहरु ४८, राजनीतिक नियुक्ति १८, विभिन्न उपभोक्ता तथा व्यवस्थापन समितिका पदाधिकारीलगायत, संस्था र अन्य गरी २९५ रहेका छन ।

आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दाहरूमध्ये आव २०८१/८२ मा गत विगत आर्थिक वर्षमा दायर भएका मुद्दासमेत जम्मा तीन सय ९३ वटा मुद्दाको फैसला प्राप्त भएको छ । फैसला प्राप्त भएका मुद्दाहरूमध्ये ८७ वटा मुद्दामा पूर्ण र १२० वटा मुद्दामा आंशिक गरी २०७ वटा अर्थात् ५२.६७ प्रतिशत मुद्दामा कसुर कायम भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ