५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि इतिहासको अर्को अध्यायको शुरुवात भयो: दाहाल

२१ मंसिर २०७४, बिहीबार ०५:४८

मङ्सिर २१, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्को अध्यायको शुरुवात भएको बताउनुभएको छ । 

जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताउनुभयो । 

अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उहाँले यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसले विकास निर्माणको निम्ति राम्रो वातावरण बन्छ र हामी त्यतातर्फ केन्द्रित हुन्छौँ ।” राजनीतिक स्थायित्वको पहिलो आधार यो निर्वाचन भएको भन्दै उहाँले नेपालको इतिहासमा धेरै संघर्ष र परिवर्तन हुँदा पनि कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “दिगो सरकार नहुँदा विकास निर्माणले गति लिन पाएन ।” 

गठबन्धनद्वारा बहुमतको सरकार बन्ने र सबै विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो “अब जसले भए पनि गठबन्धनले बहुमत ल्याउनुपर्छ, यसपटक वामपन्थीकै बहुमत आउँछ, त्यसमा शंका गर्नुपर्ने छैन ।” 


यो परिवर्तनका निम्ति सबैभन्दा ठूलो विद्रोहको नेतृत्व आफूले गरेको भन्दै शान्ति सम्झौताको नेतृत्व पनि गिरिजाप्रसाद कोइराला र आफूले गरेको बताउनुभयो । 

सशस्त्र द्वन्द्वपछि आफैँ हुर्केको गाउँबाट मतदान गर्न पाएकोमा निकै खुशी भएको भन्दै उहाँले भन्नुभयो, “एउटा नेतृत्वदायी भूमिका खेलेर आफैँले आफ्नो जिल्लामा मतदान गर्दा यहाँबाट स्थायित्व र समृद्धिको थालनी गर्न पाउँदा खुशी छु ।” 

धेरै ठूलो राजनीतिक परिवर्तनपछिको महत्वपूर्ण क्षणमा रहेको भन्दै उहाँले यो निर्वाचन विगतको निर्वाचनको पुनरावृत्ति नभएको बताउनुभयो । उहाँले भन्नुभयो “यो इतिहासमा पहिलोपटक हुन लागेको निर्वाचन हो, प्रत्येक मतदाताले एउटा उत्सवका रुपमा लिनुपर्छ । संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्षण हो ।” 

यो निर्वाचनसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन भएको भन्दै संघीयता कार्यान्वयनमा गइसकेको बताउनुभयो । नेपालमा अहिले बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन राष्ट्रका लागि शुभसंकेत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोही चिन्तित हुनुपर्ने आवश्यकता छैन, दुईवटा गठबन्धन हुँदा जसले राम्रो काम गर्छ, उसले पाँच वर्ष सरकार चलाउँछ ।” 

माओवादी केन्द्र र एमालेबीचमा निर्वाचनपछि पार्टी एकता हुने भन्दै उहाँले यसबाट कोही चिन्तित हुनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो कसैका विरुद्धमा लक्षित छैन, राष्ट्र र जनताको पक्षमा छ, हामी चाहन्छौँ, काँग्रेसमा पनि पार्टी एकताको नयाँ प्रक्रिया अगाडि बढोस् ।” 

उहाँले बिहान ७ बजेर १३ मिनेट जाँदा मतदान गर्नुभएको थियो । ठीक ७ बजे मतदानस्थलमा आउनुभएका दाहाल तयारी पूरा नभएकाले केही बेर मतदानको प्रतिक्षामा बस्नु परेको थियो । यसअघि भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि केन्द्रबाट मतदान गर्नुभएका दाहालले पहिलोपटक आफू हुर्के बढेको ठाउँ भरतपुर–१४ बाट मतदान गर्नुभएको हो । 

उहाँले मतदान गरेको चितवन क्षेत्र नं ३ मा दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । नारायण अधिकारी/रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह