मंसिर २१, नवलपरासी । नवलपरासीको बौदीकाली गाउँपालिकामा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि मतदानस्थलमा केहीबेर तनाव भएको छ ।
बौदीकाली गाउँपालिका १ स्थित गाविस भवन डाँडाथर मतदान केन्द्रमा भाइको नाममा भोट हाल्न दाइ पुगेका थिए । विवादका कारण केहीबेर मतदान समेत प्रभावित भएको थियो ।
बुथमा खटिएका सुरक्षाकर्मीका अनुसार सन्दिपराज कँडेलको नाममा सुदर्शन कँडेलले भोट हाल्न पुगेपछि प्रहरीले रोक्दा तनाव भएको हो । प्रहरीका अनुसार भोट हाल्न पुगेका सुदर्शनलाई रोकेपछि उनीसँगै रहेका कर्णबहादुर गेलाँले प्रहरीमाथि हातपात गर्न खोजेका थिए ।
त्यसपछि स्थिति थप तनाव बनेको थियो । सोही घटनामा जगतबहादुर माकिमलाई नियन्त्रणमा लिएर चेक गर्दा झोलामा खुकुरी फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।