२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत भ्रमण उपलब्धिमूलकः प्रधानमन्त्री ओली

२०७४, २५ चैत्र आईतवार १७:०१

चैत २५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताउनुभएको छ । 

तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको अवगत गराउनुभयो । 

उहाँले निकट छिमेकी एवं अन्य मित्रराष्ट्रसँग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने वर्तमान सरकारको नीति रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय नेतासँग मेरो खुलस्त र सौहार्दपूर्ण रूपमा कुराकानी भयो ।” 

“नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो बारेमा तीनवटा अलगअलग संयुक्त घोषणासमेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ”–उहाँले भन्नुभयो । 

विषयगत रुपमा ऊर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने बारेमा दुवै पक्षबीच सहमति भएको उहाँले बताउनुभयो । 

भ्रमणमा दुई मुलुकबीच ‘कनेक्टिभिटी’ प्रवद्र्धनका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्गसम्बन्धी परियोजनाको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । उहाँले भन्नुभयो, “नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय द्विपक्षीय छलफलका अलवा भारतीय व्यापारिक समुदाय, विद्वत वर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तक्रियामा समेत प्राथमिकताका साथ उठाएको छु ।” 

प्रधानमन्त्री ओलीले पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त निरीक्षण टोली खटाउन एवं महाकाली पुललगायत अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको जानकारी गराउनुभयो । 

उहाँले भन्नुभयो, “भारतले नेपालका लागि थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने बारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामो समयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु ।” 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा वीरगंज एकीकृत जाँच चौकीको उद्घाटन गरेका छौँ । यसबाट नेपाल र भारतबीच व्यापार एवं पारवहन सहजीकरणका साथै मानिसको आवागमनमा सुविधा हुनेछ ।” 

भ्रमणमा यस अतिरिक्त, सार्क, विमस्टेक एवं बीबीआइएन प्रक्रियालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राखिएको थियो । 

भ्रमणको अवधिमा भारतका महामहिम राष्ट्रपति एवं महामहिम उपराष्ट्रपतिका साथै भारत सरकारका वरिष्ठ मन्त्री एवं उच्च अधिकारीसँग समेत उहाँको भेटघाट भई आपसी हितका विषयमा छलफल भएको थियो । यसका अतिरिक्त भारतीय राष्ट्रिय काँग्रेस एवं विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतसँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको थियो । 

भ्रमणका दौरान उहाँ भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा औद्योगिक विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँलाई मानार्थ ‘डाक्टर अफ साइन्स’ उपाधि प्रदान गरिएको थियो । 

प्रधानमन्त्री ओलीले नेपालको विकसित लोकतान्त्रिक प्रणाली र हालै सम्पन्न निर्वाचनबाट प्राप्त जनमतको प्रतिनिधित्व हुने गरी भएको भ्रमणको भारतले स्वागत गरेको जानकारी गराउँदै भ्रमण यथार्थमा उपलब्धिमूलक भएको स्पष्ट पार्नुभयो । 

सञ्चारकर्मीको जिज्ञाशामा प्रधानमन्त्री ओलीले द्विपक्षीय पारस्परिक हित, सार्वभौमसत्ता र स्वाभिमानको सम्मानका आधारमा परराष्ट्र सम्बन्ध हुने बताउँदै सोही आधारमा आफूले उच्चस्तरीय भेटवार्तामा आफ्ना कुरा राखेको बताउनुभयो । 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको तर्फबाट भ्रमण बारे जारी गरिएको विज्ञप्ति परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वाचन गर्नुभएको थियो । पत्रकार सम्मेलनमा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमलगायत उपस्थित हुनुहुन्थ्यो । 

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो । 

उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणका लागि यही चैत २३ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन