पुस १२, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद प्रदेश सम्म पुगेको छ । १ नम्बर प्रदेशका तिन जना मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे,सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका हुन् ।
यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्रीबाट बर्खास्त गरेका थिए । योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ ।
आङ्बोले आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राई अहिले अल्पमतमा परेका छन् । आङ्बो अहिले प्रचण्ड–नेपालमा रहेका छन् ।
१ नम्बर प्रदेशमा ९३ जना संसद छन् । जसमध्ये नेकपाका ६७ सांसद छन् । ति मध्ये पनि प्रचण्ड-नेपाल पक्षका ४७ जना र ओली पक्षका २० जना मात्रै रहेको बताइएको छ ।