चैत ४, काठमाडौँ । नेकपा एमाले माधव कुमार नेपाल-झलनाथ खनाल समूहले आयोजना गरेको कार्यकर्ता भेलाले पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने प्रयास असफल पार्न महत्वपूर्ण योगदान दिएको बताएका छन् ।
पार्टीको एकीकृत धारणा तय गर्न आयोजना गरिएको भेलाले पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पुनस्र्थापित गर्ने काममा महत्वपूर्ण योगदान दिएको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
'पार्टीको विधान, नीति र निर्णयको विरुद्धमा उभिँदै एकल व्यक्तिको सर्वोच्चतामा पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने दृष्प्रयत्नलाई असफल पार्दै पार्टीलाई जनवादी केन्द्रीयताका सामूहिक प्रणालीमा पुनस्र्थापित गर्ने काममा आजको भेलाले महत्वपूर्ण योगदान दिएको छ ।' नेपाल समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त भेलामा देशभरिबाट चार हजार नेता–कार्यकर्ताहरु सहभागी भएको दाबि गरिएको छ । भेलामा बरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट नौ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका छन् । अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गर्दै त्यसका लागि पार्टी पंक्तिलाई परिचालन हुनुपर्नेमा जोड दिइएको छ ।
पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरिएको छ । उक्त अवधारणापत्रमाथि छलफल गर्न सहभागीहरुलाई सात प्रदेश र सम्पर्क कमिटी, जनसंगठन तथा पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूहमा विभाजन गरिएको छ ।
सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटीमा बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको केन्द्रीय प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।
सरकारी साधन स्रोत र पार्टी सत्ताको दुरुपयोग गर्दै भेलालाई असफल पार्न गरिएका हर्कतहरु परास्त गरेर देशभरबाट उत्साहपूर्वक नेता-कार्यकर्ताको सहभागिता रहेको उनले बताए । भेला अवधारणपत्र र समसामयिक विषयमा प्रस्तावहरु पारित गर्दै भोलि सम्पन्न हुने भट्टराईले बताए ।