जेठ १६, पोखरा (रासस)। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताउनुभयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जनाउँदै मन्त्रिपरिषद्बाट पनि खोप खरीद गर्नेको लागि सङ्घ सरकारलाई सिफारिश गरेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य दु्रत गतिमा भइरहेको बताउनुभयो । स्रोतसाधन र जनशक्तिकोसमेत अभाव हुन नदिन सरोकारवालालाई निर्देशन दिइरहेको जनाउँदै उहाँले बेलाबेलामा हुने ‘टेक्निकल इरर’का कारण बिरामीको मृत्यु हुने दुःखद् भएकोे र यसलाई गम्भीररुपमा लिएको बताउनुभयो ।
“पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ अब सङ्क्रमितको उपचारका लागि कुनै पनि समस्या हुँदैन”, उहाँले भन्नुभयो । परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कोभिड– १९ को महामारीका समयमा मानवीय जीवनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्रीले उक्त सामग्री सङ्क्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गर्नुभएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रबिन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार करीब रु १५ लाख मूल्य बराबरको अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेड मेशिन छ थानसहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पिपिइ सेट ५०० थान, पञ्जा एक हजार थान, मास्क १० हजार थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नमस्ते कम्यूनिटी फाउण्डेशन अध्यक्ष भिष्म पौडेलले दुई थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गर्नुभएको थियो ।
सो सामग्री पोखराका पर्यटन व्यवसायी सङ्घसंस्था, व्यवसायीलगायत रेवान पोखराका पूर्व महासचिव श्रीराम गिरीको समन्वयमा नेपलिज एशोसिएसन जर्जिया अध्यक्ष भवन्द्रे बस्नेत र अमेरिकाको जर्जिया राज्यका लागि जनसम्पर्क दूत दीपक पहारीसमेतले सहयोग गर्नुभएको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो ।